रिमझिम साँझ
गुँड फर्केकी चरी
बचेरा संझी अतासमा
चुच्चो भरी चारा बोकी
ममताको हावामा देखेँ उडेकी
सन्तानको अनुरागमा
भुलेर आफ्नो भोको पेट
बिताउने जिन्दगानी
सलाम छ तिमीलाई
हे ! सृष्टिकी जननी ।
जीवनको उदय हुन्छ जब
मुटूको स्पन्दन् हुन्छ गीत
अनुभुतीको अँगालो भरी
ममता समेटेर आमा !
निर्माण गछ्र्यौ तिमी
एउटा घर संसार
बाँड्दै ममताको खानी ।
दीन दुःखी कमजोर
चाहे होस सुखी अमीर
बराबर अमृतधारा ममताको
पिलाउँछ्यौ सन्तान सबैलाई
बनी जीवनदायीनी
हे ! आमा तिमी ममताकी रानी ।
ममताको अकाश गंगा
सीमा विहीन छ
यसको आयतन भित्र
जीवनसार अटेको छ
जीवनको भरोसा टुट्दैना तब
जबसम्म ममता बन्छिन् आमा
सृष्टि थामेको छ त्यसैले
तिम्रो मुस्कान उदाउँदा
अनि सबैले भन्छन् तिमीलाई
जीवन दिने महादानी ।